काठमाडौँ — अमेरिकामा राष्ट्रपतीय चुनाव आउन ६ सातामात्र बाँकी रहेको भए पनि मुख्य दुईमध्ये कुन उम्मेदवारले बाजी मार्छन् भन्ने अझै अनुमान गर्न कठिन देखिएको छ । पछिल्ला चुनावी सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने देखाएका छन् ।
दुवै उम्मेदवारहरू एकअर्काविरूद्ध निकै आक्रामक देखिएका भए पनि अमेरिकी मतदाताहरूले उनीहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक लगायतका घरेलु मामिलाका साथै विदेश नीतिबारे अघि सारेका एजेण्डाको समीक्षा गरिरहेको देखिएको छ ।
एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनाव जित्न त्यति सहज भने देखिएको छैन ।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा त्यसबेला निकै लोकप्रिय रहेकी उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित भएकी थिइन् । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला ? अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् ।
पछिल्लो पटक फाइभ थर्टीएटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात् दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ । गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफूलाई निकै मजबूत उम्मेदवारका रूपमा प्रस्तुत गर्न सफल देखिए पनि मतदाताले उनलाई खुलेर समर्थन गरेका छैनन् ।