काठमाडौँ — फिल्म ‘स्केप’ बाट अभिनय क्षेत्रमा डेब्यु गरेका प्रदीप खड्काले त्यसयताको ९ वर्षभित्रै नायकका रूपमा ठूलै उचाइ नापिसकेका छन् । संख्यात्मक रूपमा उनका नौ वटा नै फिल्म प्रदर्शनमा आएका छन् । यतिबेला तिहारको छेको पारेर उनी अभिनीत फिल्म ‘एक्टर’ कात्तिक १५ देखि प्रदर्शनमा आउँदै छ ।
‘प्रेमगीत’ फेम्ड प्रदीप पछिल्ला फिल्म ‘प्रकाश’ र ‘पुजार सार्की’ पछि गम्भीर चरित्रमा पनि आफूलाई ढाल्न सक्ने अभिनेताका रूपमा देखिएका छन् । दुवै फिल्मको शीर्ष भूमिकाका लागि उनलाई निर्देशक दिनेश राउतले चरित्रमा खरो उतारेका थिए । यस पटक ‘एक्टर’ मा भने उनलाई राजन भुसालले निर्देशन गरेका हुन् । भुसालको यो पहिलो निर्देशकीय फिल्म पनि हो । फिल्ममा प्रदीपसँगै आना शर्मा र दिव्या रायमाझी मुख्य भूमिकामा छन् ।
आइतबार मात्रै सार्वजनिक गरिएका नयाँ पोस्टरमा प्रदीप दुवै अभिनेत्रीसँग देखिएका छन् । थमनकुमार भण्डारीको निर्माण रहेको फिल्म यिनै तीन पात्रको त्रिकोणात्मक प्रेमकथा वरिपरि घुमेको बताइएको छ । फिल्मको पटकथा आकाश बरालसँग मिलेर निर्देशक भुसालले तयार पारेका हुन् ।