काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पार्टी संगठन निर्माणमा सक्रियता बढेसँगै छटपटी पनि बढेको छ । कांग्रेस–एमालेको बलियो गठबन्धन बनेपछि सुरु भएको उनको छटपटी पछिल्लो समय झन् बढेको हो ।
उनको यो छटपटी सदन र सडक दुवै मोर्चामा प्रखर रूपमा देखिएको छ । कांग्रेस–एमाले गठबन्धन सरकारले सय दिन पूरा नगर्दै भदौ ११ मा संसदलाई सम्बोधन गर्ने क्रममा दाहालले चर्को आक्रोश पोखेका थिए । उनको त्यो अभिव्यक्तिलाई कांग्रेस–एमालेले सरकारबाट बाहिरिनु परेको छटपटीका रूपमा अर्थ्याएका छन् । त्यसपछि हरेक सार्वजनिक कार्यक्रममा उनको छटपटी झन् बढेको स्पष्ट देखिँदै आएको छ ।
कांग्रेस–एमाले गठबन्धनलाई कमजोर बनाउने रणनीति लिएका दाहालले पछिल्लो समय प्रतिपक्षमा रहेका गणतन्त्रवादी, पहिचानवादी, राजतन्त्रवादी नेताहरूसँग आगामी मोर्चाबन्दीबारे छलफल पनि सुरु गरेका छन् । संसदको आगामी हिउँदे अधिवेशनमा सदनमा विपक्षीको मोर्चाबन्दी गर्ने र देशव्यापी सडक अभियान चलाउने तयारी माओवादीको छ ।