भैरहवा — तीन महिनाअघि अमेरिकी राजदूत डिन आर थम्प्सन रूपन्देही सदरमुकाम भैरहवास्थित पवन मिष्ठान्न भण्डारमा आए । मिष्ठान्न भण्डारका सञ्चालक पवन हलवाईले राजदूत थम्प्सनलाई स्वागत गरे । भैरहवा घुम्न आएका बेला यहाँको पवनको पेडाबारे सुनेकाले आफू पसलमै आइपुगेको राजदूतले सुनाएका थिए । ‘यहीं बसेर पेडा चाख्नुभयो,’ सञ्चालक हलवाईले भने, ‘एकदमै मिठो लागेको प्रतिक्रिया दिनुभयो । फर्किने बेला रेस्टुरेन्टमा पुगेर पेडा किनेर कोसेली पनि लग्नुभयो ।’
पछिल्लो पटक सिद्धार्थनगर–५ मैत्रीपथस्थित पवन मिष्ठान्न भण्डारमा आएका विशिष्ट व्यक्तिमध्ये अमेरिकी राजदूत एक हुन् । ‘रूपन्देही आउने धेरै विशिष्ट व्यक्ति हाम्रो पसलमा आउनुहुन्छ,’ पवनले भने, ‘उहाँहरूको सुझाव, सल्लाह र सकारात्मक प्रतिक्रियाले हौसला मिल्छ ।’ सीमावर्ती सहर भैरहवाको केन्द्रमा रहेको उक्त मिठाई पसल वर्षौंदेखि चिया–नास्ता खाँदै जमघट गर्ने थलोका रूपमा पनि परिचित छ ।
स्थानीयहरू दिनहुँजसो यस मिष्ठान्न भण्डारमा जमघट भएर पेडा खान्छन्, गफिन्छन् । रूपन्देहीबाट बाहिरिने र घुमफिरका लागि यहाँ आउनेले कोसेलीका रूपमा पेडा लिएर पनि जान्छन् । त्यसैले पवनको पेडा कोसेलीका रूपमा पनि उत्तिकै लोकप्रिय छ । एक दशकयता यहाँ उत्पादन गरिएको पेडा नेपाली रहेका विश्वका अधिकांश मुलुकमा कोसेलीका रूपमा पुगिरहेको सञ्चालक पवन दाबी गर्छन् ।